एसपीहरु तानिएसँगै मधेस प्रदेशका डिआइजी पनि गृहको निगरानीमा
काठमाडौं । पछिल्लो एक महिनामा नौ जिल्लाका एसपीलाई प्रहरी प्रधान कार्यालयले हटाएको छ ।सामान्य गल्ती देखिएमा पनि जिम्मेवारीबाट हटाउने गृह मन्त्रालयको नीतिअनुसार यसरी छोटो अवधिमै एसपीहरु हेरफेर हुन थालेका हुन् ।सोमबार मात्र सिरहा र इलामका एसपी फेरिए । थप केही जिल्लाका प्रहरी प्रमुखहरु निगरानीमा रहेको स्रोत बताउँछ ।एसपीमात्र होइन कार्यक्षमतामा कमजोर रहेका डिआइजीहरु समेत हटाउने तयारी छ । मधेस प्रदेशका डिआइजी यज्ञ बिनोद पोखरेल सबैभन्दा जोखिममा छन् ।
कार्यक्षमता कमजोर रहेको र मातहतका जिल्लामा राम्रो नियमन गर्न नसकृेको रिपोर्ट गृह मन्त्रालयमा पुगेको छ । डिआइजी पोखरेल आफैंले पनि केही जिल्लामा गोप्य रुपमा घुमुवा परिचालन गरेको स्रोत बताउँछ ।डिआईजी पोखरेलले विपत ब्यवस्थापन कार्यालय पर्सामा कार्यरत सई त्रिभुवन साहलाई बाराको अमलेखगंज इलाका प्रहरी कार्यालयको इन्चार्जमा सरुवा गरेका छन् । जिल्ला प्रहरी कार्यालय बारामा काजमा ल्याएको केही दिनमै पोखरेलले असुलीका लागिउनलाई अमलेखगंज पठाएका छन् ।
डिआईजी पोखरेलले बीरगंज भन्सारदेखि विभिन्न आकर्षक पोष्टमा बर्षौ कार्यरत जुनियर अधिकृतलाई बाराका राजमार्ग र सीमाचौकीमा सरुवा गरेका छन् । तस्करीमा सहजीकरण गर्न पोखरेलले बाराका सीमाक्षेत्रका प्रहरी चौकी मुसहर्वामा सई रबिन्द्र साह, छतवामा सई सन्तोष केसी, पथलैयामा नरेशबहादुर शाही, मटिअर्वामा अरुण यादवलाई इन्चार्ज बनाएका छन् ।अरुण यादव बाहेक मुसहर्वा, छतवा, पथलैया र अमलेखगञ्ज इन्चार्ज खटाइएकाहरु यसअघि पर्साको बीरगंजमा लामो समय कार्यरत रहिसकेका र उनीहरुको तस्करहरुसँग राम्रो सम्बन्ध भएकाले तस्करी लाइन दिएर कमाउधन्दा संचालन गर्नका लागि नै पोखरेलले खटाएको प्रहरी स्रोत बताउँछ ।
तराईका ठूला तस्करसँग डिआइजी पोखरेलको साँठगाँठ देखिएको छ । हुन्डी कारोबारको नियन्त्रणमा पनि प्रहरीले चासो दिन सकेको छैन । भन्सार राजश्वमा सुधार हुन नसकेकाले डिआइजी पोखरेल धरापमा परेका हुन् ।हुन्डी कारोवारी राकेश महतो, रमेश महतो र भारतबाट कुहिएको दाल ल्याएर नेपालमा पोलिस लगाएर बेच्ने तस्कर राजेश अग्रवालसँग पोखरेलको सेटिङ चल्दै आएको प्रहरी स्रोत बताउँछ ।
बाराका तत्कालिन एसपी सुरेश काफ्लेले यी तस्करहरुलाई कारवाही गर्न खोज्दा पोखरेल निकटहरुले गृहमा उल्टो कुरा लगाई काफ्लेको सरुवा गराउन सफल भएका छन् । जनस्वास्थ्यमा खेलवाड गर्ने अग्रवाल जस्ता तस्करहरुलाई मुद्धा चलाउनुपर्नेमा सामान्य कारवाही गरी उन्मुक्ति दिइएको छ ।तत्कालिन गृहमन्त्री नारायणकाजी श्रेष्ठमार्फत पोखरेल मधेसको इन्चार्ज हुने अवसर पाएका हुन् । हालका गृहमन्त्री रवि लामिछानले तत्कालिन गृहमन्त्री श्रेष्ठ निकट प्रहरी अधिकारीमाथि बिशेष निगरानी राख्दै आएका छन् ।
लुम्बिनीका सीमा नाकामा पनि बदमासी रोकिएको छैन । गृह मन्त्रालयले घुमुवा हटाउन निर्देशन दिएकोमा अझै पालना भएको छैन । रुपन्देही, कपिलवस्तु, बाँकेका सीमा नाकामा अझै घुमुवा प्रहरीको सेटिङमा तस्करी रोकिएको छैन ।
लुम्बिनीका पनि केही जिल्लाका एसपीसहित डिआइजीलाई समेत गृहले निगरानीमा राखेको छ । लुम्बिनीका डिआइजी कुबेर कडायतको कमाण्ड कमजोर रहेको भन्दै प्रहरी महानिरीक्षक बसन्त कुँवर समेत असन्तुष्ट छन् । उता, झापाको इलाका प्रहरी कार्यालय, गौरीगञ्जका घुमुवा प्रहरी तुलाराम चौधरीको मिलेमतोमा रातीराती तस्करी हुने गरेको गुप्तचरको रिपोर्टका आधारमा प्रहरी प्रधान कार्यालयले छानविन थालेको छ । अनलाइन नेपाल बाट साभार