ज्यान मार्ने उद्योगमा पुर्पक्षमा रहेका वडाध्यक्ष अढाई लाख धरौटीमा रिहा
राजेन्द्र बिश्वकर्मा | सर्लाही , १२ माघ | ज्यान मार्ने उद्योगमा पुर्पक्षमा कारागार मलंगवामा रहेका धनकौल गाउँपालिका–५ का वडाध्यक्ष गजेन्द्र महतो रिहा भएका छन्। उनलाई उच्च अदालत जनकपुरले धरौटीमा रिहा गर्न आदेश दिएको हो।
अदालतको सयुक्त इजलासले बिहिबार उनलाई दुई लाख पचास हजार रुपैयाँ धरौटि लीई तारिखमा राखी मुद्दाको पुर्पक्ष गर्न सर्लाही जिल्ला अदालतलाई पत्र पठाएको थियो। महतोलाई गत कार्तिक २२ गते ज्यान मार्ने उद्योगमा सर्लाही जिल्ला अदालतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले अन्तिम फैसला नआउन्जेल पुर्पक्षमा कारागार चलान गर्न आदेश दिएपछि उनि कारागार चलान भएका थिए।
उनीमाथि गाउँकै मानिस घाइते हुने गरी कुटपिटको घटनामा संलग्न रहेको भन्दै मुद्दा दर्ता भएको थियो। महतोले रिहा भएपछी संचारकर्मीसंगको कुरामा आफूलाई बिभिन्न राजनीतिक दलहरु मिलेर फसाउन खोजेको बताएका थिए। आफू निर्दोष रहेको र अदालतले पनि आफूलाई न्यायसमेत दिएको उनले बताए। महतो स्थानीय तह निर्वाचन–२०७९ मा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।