बालकृष्ण खाँणको निलम्बनबारे कांग्रेसले सभापति देउवा फर्केपछि मात्रै निर्णय गर्ने
काठमाडौं । भुटानी शणरार्थी प्रकरणमा जेल परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई निलम्बन गर्ने वा नगर्नेबारे निर्णय नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवा फर्केपछि मात्रै गर्ने भएको छ ।
सभापति देउवा उपचारको लागि सिंगापुर गएका छन् । देउवा असार ७ गते फर्केपछि मात्रै खाँणको विषयमा छलफल हुने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएका छन् ।
२७ वैशाखमा नक्कली शरणार्थी प्रकरणमा परेका खाँणलाई शुक्रबार काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । सभापति देउवाले खाँण पक्राउ परेकै दिन (वैशाख २७) गते पदाधिकारीसँग परामर्श गरेका थिए ।
खाँणलाई निलम्बन गर्नुपर्ने र गर्न नहुने गरी शीर्ष नेतामा फरक फरक तर्क आएपछि देउवाले वैशाख २८ मा वर्तमान र पूर्व पदाधिकारीको संयुक्त बैठक बोलाएका थिए । उक्त बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाँणलाई निलम्बन गर्नुपर्ने मत राखेका थिए ।