Headlineअन्तराष्ट्रियअन्यअर्थ/ वाणिज्यआपराध/सुरक्षाकृषिखेलकुदधर्म/सांस्कृतिपत्रपत्रिकाफोटो फिचरमनोरन्जनराजनीतिराष्ट्रियविचारविज्ञान/प्राविधिशिक्षासमाचारसमाजस्वास्थ्य

फलफूल मन्डीमा ९० प्रतिशत आँप स्वदेशी, थोक मूल्य प्रतिकेजी ५० देखि ८० रुपैयाँ

काठमाडौं। सिजन सुरु भएसँगै बजारमा स्वदेशी उत्पादन आँप ठूलो परिमाणमा भित्रिन थालेको छ। व्यवसायीका अनुसार यतिबेला उपत्यकाको बजारमा करिब ९० प्रतिशत आँप स्वदेशी छन्।

१० प्रतिशत आँप भारतबाट आयातित रहेको कुलेश्वर फलफूल बजार विकास समितिले जनाएको छ। यसअघि बजारमा भारतबाट आयातितको वर्चस्व थियो। स्वदेशी उत्पादन बजारमा आइपुग्ने परिमाण बढेसँगै आँप सस्तो पनि भएको व्यवसायीले बताएका छन्।

हरेक वर्ष सुरुवाती समयमा भारतीय आँपले राम्रो बजार मूल्य पाउने गरेको छ। स्वदेशी उत्पादन बजारमा आइपुग्नु निकै अघि भित्रिने भएकाले आयातितले बढी मूल्य पाउने गरेको हो। आयातित प्रतिकेजी एक सय रुपैयाँभन्दा बढीमा बिक्री हुन्छ। स्वदेशी उत्पादन बजारमा आउन थालेपछि मूल्य घट्दै जाने गरेको छ।

हाल बजारमा मालदह, कलकत्ते, दशहरी र बम्बई आँप प्रशस्त मात्रामा आएको छ। आँपको थोक मूल्य प्रतिकेजी ५० देखि ८० रुपैयाँमा बिक्री भइरहेको कुलेश्वर फलफूल बजारले जनाएको छ। गुणस्तर अनुसार मूल्य निर्धारण भएको छ। गत वर्ष पनि मालदह आँप प्रतिकेजी ९० रुपैयाँसम्ममा बिक्री भएको थियो। उपभोक्ताले खुद्रामा प्रतिकेजी एक सय रुपैयाँमा खरिद गर्दै आएका छन्।
स्वदेशी आँपको सिजन सुरु भएकाले आयातित कम परिमाणमा आइरहेको कुलेश्वर फलफूल बजार विकास समितिका अध्यक्ष अम्बर बानियाँले बताए। तराईका सप्तरी, सिरहा, धनुषा, महोत्तरी लगायत विभिन्न जिल्लाबाट देशभर आँपको आपूर्ति भइरहेको छ। मधेसका जिल्लामा फलेका आँप देशभरका बजारमा पुग्दा धेरै परिमाणमा उपत्यकामा आएको छ।

 

‘हिजोआज कुलेश्वरमा दैनिक एक सय टन आँप भित्रिरहेको छ,’ उनले भने, ‘अहिले तराईका जिल्लाबाट आएको आँपले बजार लिएको छ। अलि पछि पहाडी जिल्लाबाट पनि आउँछ।’ बजार मागका तुलनामा आपूर्ति अधिक भइरहेकाले भाउ सस्तिएको उनले बताए।

यसपटक बजारमा स्वदेशी उत्पादन विगतका वर्षभन्दा केही छिटो आइपुगेको थियो। उनका अनुसार अबको केही दिनपछि भारतबाट आँप आयात बन्द हुन्छ। नेपाली उत्पादन बजार आइपुग्ने परिमाण घटेपछि पुनः आयात बढ्छ। करिब डेढ महिनासम्म स्वदेशी आँप बजारमा रहने गरेको छ।


स्वदेशी उत्पादन भण्डारनको व्यवस्था नहुँदा पाक्न थालेपछि आँप किसानले हतार बजार पठाउँछन्। एकैपटक धेरै आपूर्ति हुँदा मूल्य सस्तिन्छ। आपूर्ति घटेपछि आयातितले पुनः बजार लिने गरेको छ।
बर्सेनि आँपको सिजनमा अन्य फलफूलको बिक्री कम हुन्छ। यतिबेला स्याउ, केरा लगायतको फलफूल भन्दा उपभोक्ताले आँप खरिद गर्छन्। जसले गर्दा आँपको सिजना दैनिक २ सय टनसम्म भित्रिने गरेको छ। दैनिक ९० लाखभन्दा बढीको कारोबार हुने गरेको कुलेश्वर बजारले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button